होम पेज » मनाेरञ्जन » काठमाडौँमा फिल्म ‘कठपुतली’को भव्य प्रिमियर, प्रतिक्रिया उत्कृष्ट

शुक्रवारबाट देशव्यापी प्रदर्शन

यही शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आउन लागेको हरर जनरामा निर्मित फिल्म ‘कठपुतली’ को बुधवार कमलपोखरीस्थित बिग मुभिजमा गरिएको प्रिमियरमा फिल्मकर्मीबाट उत्कृष्ट प्रतिक्रिया मिलेको छ । प्रिमियरमा उपस्थित अधिकांशले कलाकारको अभिनय, निर्देशन, स्क्रिनप्ले, छायांकन, साउन्ड डिजाइन, लाइटिङ, फ्रेमिङ र सम्पादनको मुक्तकण्ठले प्रशंसा गरेका थिए ।

निर्देशक तथा निर्माता आकाश अधिकारीले फिल्मको स्क्रिनप्लेको प्रशंसा गरे । फिल्म हेरेपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले भने- ‘सम्पदा मल्लको लेखन मलाई मन पर्‍यो । समग्रमा भन्दा फिल्मले बाँधेर राख्छ । नेपाली फिल्म नचलिरहेको अवस्थामा यो फिल्मले बाटो खोल्छ भन्नेमा म विश्वस्त छु । अन्तर्राष्ट्रिय स्तरमा पनि यो फिल्म जान सक्ने सम्भावना देखेको छु ।’

निर्देशक प्रदीप भट्टराईले फिल्मको टेक्निकल पक्षको प्रशंसामा शब्द खर्चिए । उनले भने- ‘नेपाली फिल्म हेर्दा नयाँ अनुभव गरियो । टेक्निकली एकदमै रिच छ फिल्म । साउन्ड, लाइटिङ, प्रोडक्सन, कस्ट्यूम, अभिनयको कुराले फिल्म बलियो छ । फिल्म तर्साउन सफल भएको छ । फिल्ममा महिला सशक्तिकरणको कुरालाई पनि उठाइएको छ, जुन कुरा मलाई असाध्यै मन पर्‍यो ।’

अभिनेत्री तथा निर्मात्री निशा अधिकारीले फिल्मबाट टेक्निकलका धेरै कुरा सिक्न सकिने बताइन् । इडिटिङ, प्रोडक्सन, लाइटिङ, एक्टिङ र स्टोरीले फिल्म बलियो बनेको उनको भनाई थियो । पहिलो पटक स्वदेशी भूत हेर्न पाएकोमा उनले खुसी व्यक्त गरिन् । त्यस्तै, निर्देशक तथा चर्चित सञ्चारकर्मी डिनेश डिसीले फिल्म समग्रमा राम्रो बनेको र टेक्निकल पक्ष निकै बलियो रहेको बताए ।

प्रिमियरमा बोल्ड परिहनमा पुगेकी फिल्मकी मुख्य अभिनेत्री उषा रजकले वर्षौंको मेहनतले यत्तिको प्रोडक्ट बनेको बताउँदै फिल्म हेर्दा आफू इमोसनल भएको बताइन् । उनले भनिन्, ‘फिल्मको छायांकन भइरहँँदा मेरो छोरी ९ वर्षकी थिइन् । उनलाई आफन्तकोमा छोडेर पाल्पा जाँदाको सम्झना फिल्म हेर्दा झलझली आयो । म आफैंलाई भने फिल्म राम्रो लाग्यो ।’

अभिनेत्रीद्वय गौरी मल्ल र शिल्पा मास्केले फिल्ममा आफ्नो भूमिकाबाट सन्तुष्ट रहेको बताएका थिए । जितु नेपालले उद्घोषण गरेको प्रिमियर शोमा राजनेता रविन्द्र मिश्र, नाट्यकर्मी अशेष मल्ल, पत्रकार टिकाराम यात्री, गायकद्वय सत्य-स्वरुप, कलाकार सन्दिप क्षेत्री, निर्देशक सुदर्शन थापा, लेखक प्रदीप भारद्वाज, नायिका बेनिशा हमाल, नायक निराजन प्रधान, निर्माता अर्जुन कुमार लगायतको उपस्थिति रहेको थियो ।

फिल्मलाई भिमसेन लामाले निर्देशन गरेका हुन् । फिल्म मिथिला शर्मा, कर्मा र उषामाथि केन्द्रित छ । पिताको गलत निर्णयले ढल्ने अवस्थामा पुगेको राजतन्त्रलाई जोगाउन निस्किएको राजकुमारको जीवनमा आउने विभिन्न घटनाक्रमलाई देखाइएको फिल्ममा मिथिला शर्माको अभिनय बुलन्द छ । कर्मा र उषाले पनि जीवन्त अभिनय गरेका छन् । त्यस्तै, गौरी मल्ल र शिल्पा मास्केले पनि फिल्ममा आफ्नो प्रभाव छाडेका छन् ।

फिल्मको अर्को सबैभन्दा बलियो पक्ष भनेको ब्याकग्राउन्ड स्कोर हो । स्तरीय ब्याकग्राउन्ड स्कोरले फिल्ममा प्राण भरेको छ । अष्ट्रेलियाका छायाँकार जोएल फ्रूमको छायांकन पनि प्रशंसायोग्य छ । त्यस्तै, लाइटिङ, फ्रेमिङ र इडिटिङले फिल्मको कथालाई मर्न दिएको छैन । पहिलो पटक फिचर फिल्मको निर्देशन गरेका भिमसेन लामाले आफ्नो निर्देशकिय क्षमता प्रस्तुत गरेका छन् ।

सुवर्ण थापा, ध्रुव कोइरालाको पनि अभिनय रहेको फिल्मलाई पृथ्वी राना मगरले निर्माण गरेका हुन् । फिल्मको सह-निर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा छन् । शुक्रवारबाट प्रदर्शनमा आउन लागेको फिल्मलाई बुधवार साँझबाटै काठमाडौं र मोफसलका मल्टीप्लेक्सहरुले शोज उपलब्ध गराइसकेका छन् । दुइवटा ट्रेलरले फिल्मको हाइप बनाइसकेको छ ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु

ताजा अपडेट