होम पेज » राष्ट्रिय » उद्यमशिल सहकारीको ९ औँ वार्षिक साधारणसभा सम्पन्न, डेढ अर्ब भन्दा माथि कुल कारोबार

मंसिर ०४, २०७८ – धरान-१० स्थित सैनिक चोकमा रहेको उद्यमशिल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १० औँ स्थापना दिवस तथा ९ औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

आज शनिबार आयोजना भएको १० औँ स्थापना दिवस तथा ९ औँ वार्षिक साधारणसभामा संस्थाका अध्यक्ष डा.योगेन्द्र राईले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०७७/७८ मा खुद बचत ३६ लाख ९२ हजार २ सय ८९ रुपैयाँ ५० पैसा भएको जानकारी दिएका छन् । सहकारीले आर्थिक वर्ष २०७७/७८ मा १ अर्ब ६६ करोड ८६ लाख ८ हजार ४ सय ८४ रुपैयाँ १६ पैसा कुल कारोबार गरेको बताइएको छ । सहकारीले विभिन्न कोषहरुमा बाँडफाँड गर्दा शेयर बोनस कोषमा १२ लाख ९२ हजार ६ सय ५३ रुपैयाँ ६९ पैसा संचित गर्न सफल भइ कुल शेयर पूँजिको ५ प्रतिशतका दरले लाभांश वितरण गर्न सफल भएको समेत बताइएको छ ।

सहकारीले आर्थिक वर्ष २०७७/७८ को अन्त्यमा ३ करोड ३६ लाख ६ हजार ३ सय ९ रुपैयाँ ९५ पैसा कुल आम्दानी गरेकोमा कुल खर्च २ करोड ९६ लाख ३६ हजार १ सय ६ रुपैयाँ १९ पैसा गरेको अध्यक्षद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ । उनले आर्थिक वर्ष २०७७/७८ को अन्त्यमा ४ करोड ६४ लाख ९७ हजार ३ सय रुपैयाँ शेयर पूँजी पुर्याउन सफल भएको बताउँदै २३ करोड ६७ लाख ४९ हजार ९ सय २७ रुपैयाँ ६६ पैसा निक्षेप पुर्याउन सफल भएको बताएका छन् । उनका अनुसार हाल सहकारीमा सेवा केन्द्र सहित २० जना नियमित कर्मचारीहरु कार्यरत छन् भने १ हजार ७ सय २३ शेयर सदस्यहरु रहेका छन् ।

साधारण सभामा व्यवस्थापकिय प्रगतिबारे जानकारी दिदै सहकारीका व्यावस्थापक जित बहादुर राउतले सहकारीले गत सालभन्दा यस वर्ष शेयर रकममा ११०.१५ प्रतिशत, बचतमा ९१.६४ प्रतिशत, ऋण लगानीमा ८२.५८ प्रतिशत, ऋण असुलीमा ५८.८६ प्रतिशतले बृद्धि र कोष रकममा थप ९०.७६ प्रतिशतले वृद्धि गर्न सफल भई सदस्य विस्तारमा समेत ७१.६१ प्रतिशतले वृद्धि गर्न सफल भएको बताएका छन् । साथमा उनले आर्थिक वर्ष २०७७/७८ मा सम्पन्न भएका मुख्य कार्यहरू, संस्थाको उपलब्धिहरूको बारेमा शेयर सदस्यहरूलाई जानकारी गराएका थिए । उक्त समयमा लेखा संयोजक आरती राईले संस्थाको लेखा प्रतिवेद प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं.१ का सभामुख प्रदिप कुमार भण्डारीले पानसमा द्विप प्रज्वलन गरी गरेका थिए । कार्यक्रममा बोल्दै उनले अबको समयमा आर्थिक क्रान्ति गर्न आवश्यक रहेको बताएका छन् । उनले आर्थिक क्रान्ति बिना मुलुक समृद्ध हुन नसक्ने बताउँदै नागरिकको जीवनस्तर उकास्न आर्थिक क्रान्ति जरुरी रहेको बताए । उनले यसको लागि ३ खम्बे नीति अनुसार सहकारीको अभियानलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् ।

कार्यक्रममा बोल्दै कार्यक्रमका विशिष्ठ अतिथि जिल्ला सहकारी संघ सुनसरीका वरीष्ठ उपाध्यक्ष एवम् धरान १५ नम्बर वडाका वडाअध्यक्ष नरेशकुमार इवारमले सहकारीलाई शुभकामना व्यक्त गर्दै एक व्यक्ति एक सहकारी रहने भएको धेरैवटा सहकारीमा कारोबार गर्नेलाई कारबाहि गरिने बताए ।

उक्त समयमा बोल्दै कार्यक्रमका विशिष्ठ अतिथि बाझगरा बहुउद्देश्यिय कृषक संघका सल्लाहकार मुकसामहाङ मेन्याङकोले सहकारीलाई सल्लाह सुझाव व्यक्त गर्दै आगामी दिनमा साधारणसभा गर्दा प्रतिनिधीमुलक तरिकाले आयोजना गर्नुपर्ने बताए ।

सहकारीले यसवर्षबाट पत्रकार सम्मान समेत सरुवात गरेको छ । यसपटक सहकारीले औजार राष्ट्रिय दैनिकका कार्यकारी सम्पादक रणध्वज लाेहारलाई नगद १० हजार रुपैयाँ सहित सम्मान पत्रले सम्मान गरेको छ ।

कार्यक्रममा जेष्ठ सदस्य सम्मान धरान-१३ का शंकर बहादुर राईलाई प्रदान गरिएको थियो। उनलाई नगद सहित सम्मान पत्रले सम्मान गरिएको थियो । यसैगरी असल तथा नियमित बचतकर्ता सम्मान १४ जनालाई प्रदान गरिएको थियो भने १३ जना असल ऋणीलाई समेत सम्मान गरिएको थियो ।

कर्मचारीतर्फ घनश्याम राउत उत्कृष्ट कर्मचारी, बल बहादुर लिम्बू उत्कृष्ट नियमित बजार कर्मचारी, खेम कुमारी कट्वाल र सविना राई असल तथा नियमित कर्मचारी बनेका छन् । उनीहरुलाई समेत नगद सहित सम्मान पत्रले सम्मान गरिएको थियो ।

साथमा सहकारीले सदस्य सम्मानतर्फ विशेष सहयोग सम्मान धरान-१५ की कुमारी भुजेल मगरलाई प्रदान गरिएको थियो । साथमा जग्गा खरिद कोषमा सहयोग गर्ने शेयर सदस्यहरुलाई समेत सम्मान गरिएको थियो । उक्त सम्मान प्राप्त गर्ने सदस्यहरुमा धरान-८ का शिशिर राई, धरान-१० की ज्योति राई, निलिमा मल्ल, धरान-११ का भिमकुमारी राई, इन्द्र कुमारी गुरुङ, अनिता श्रेष्ठ, विमित राज श्रेष्ठ, हेलेन राई, इन्द्रबहादुर मादेन, चन्द्रबहादुर तामाङ, यशोदा राई, धरान-१५ की आशा कुमारी राई, धरान-१६ की अमृता रामदाम, धरान-१७ का सन्देश कुलुङ राई, दिलकुमारी राई र बल बहादुर लिम्बु रहेका छन् । उनीहरुलाई दोसल्ला र प्रमाणपत्रले सम्मान गरिएको थियो ।

कार्यक्रममा विशेष अतिथि संस्थाका शेयर सदस्य तथा वडा नं.५ का अध्यक्ष सन्तोष लिम्बु, जिल्ला सहकारी संघ सुनरीका उपाध्यक्ष दिनेश कुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम सहकारीका अध्यक्ष डा.योगेन्द्र राईको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको समापन गर्दै अध्यक्ष डा.राईले सहकारीमा सबैजना माैरीजस्तो एक भएर लागि पर्नुपर्ने बताए ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु

ताजा अपडेट