होम पेज » राष्ट्रिय » धरानमा भव्यरुपमा मनाइयो सोनाम ल्होछार (भिडियो)

माघ ८, २०७९ – तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होछार २८५९ आज आइतबार धरानमा धुमधामले मनाइएको छ ।

नेपाल तामाङ घेदुङ संघ नगर कार्यसमिति धरानको आयोजनामा धरान ८ स्थित संघको जिल्ला कार्यसमितिको कार्यालयमा विविध कार्यक्रम गरि सोनाम ल्होछार मनाइएको थियो । संघको नगर अध्यक्ष यामबहादुर गोले तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा र्याली समेत गरिएको थियो । नगर प्रमुख हर्क साम्पाङ प्रमुख अतिथि रहेका थिए भने उपप्रमुख अइन्द्रविक्रम बेघा विषेश अतिथिको रुपमा उपस्थित रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख बेघाले नयाँ संविधानले नेपाललाई बहुधार्मिक, बहुभाषिक, बहुसाँस्कृतिक मुलुकको रुपमा सम्बोधन गरेको बताए । संविधानले प्रदान गरेको हकअधिकार उपभोग गर्दै जातिय, धार्मिक, संस्कृतिलाई सम्मान गरिरहेको उनले बताए । उनले संविधानले दिएको अधिकारलाई अंगीकार गर्दै पुर्खाहरुको योगदानलाई स्मरण गर्दै नयाँ नेपालमा आफ्नो योगदान र भुमिका खोजी गर्दै अघि बढीरहेको पनि बताए । ‘इतिहासले एकल राज्य स्थापना गर्ने सोच र मानसिकतालाई किनारा लगाएर देशलाई सबै जाति, भाषा, धर्म, सँस्कृति रमाउने देश बनाएका छौं, सबैलाइ सम्मान गर्ने देश बनाएका छौं,’उनले भने । कार्यक्रममा घेदुङलाई सम्मान गर्ने विभिन्न व्यक्तिहरुलाई सम्मान पनि गरिएको थियो भने साँस्कृतिक नृत्य पनि प्रस्तुत गरिएको थियो ।

मेयर साम्पाङले सोनाम ल्होसार तामाङ जातिको मात्र नभै राष्ट्रिय चाडकोरुपमा मान्यता पाएकोले नेपाल सरकारले सार्वजनिक विदा दिएको बताए । उनले कुनै पनि जातिको चाड सोही जातिको मात्र एक्लो चाड भनेर बुझ्न नहुने पनि बताए । नेपालमा १२५ जातजातिहरु मिलेर बसेको भन्दै मेयर साम्पाङले नेपालीहरु बीचमा भएको जातीय सहिष्णुता र अन्तरघुलित भएर बसेको समाजले विश्वलाई कसरी मिलेर बसेका छौं भनेर सन्देश दिइरहेको बताए ।

‘नेपालमा विश्वभरका पर्यटक आउनुहुन्छ, उनीहरु हिमाल, वन्यजन्तु मात्र हेर्न आएका हेइनन् । हाम्रो समाजलाई हेर्न आएका छन्, समाजका विभिन्न जातजाति, सँस्कार, भाषा,भेषभुषा हेर्न आएको हा,’उनले भने,‘त्यसैले हामीले हाम्रो सँस्कार, सँस्कृतिलाई बचाउनु नै हाम्रो सुन्दरतालाई बचाउनु हो ।’

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु