माघ १२, २०७९ – धरानमा जारि २३औँ टुबोर्ग गोधुली रनिङ कपमा धरान १७ उपाधि नजिक पुगेको छ ।
धरान १६ स्थित रंगाशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा धरान १६ लाई पराजित गर्दै धरान १७ फाइनल प्रवेश गरेको हो । धरान १७ ले धरान १६ लाई ३–० गोल अन्तरले पराजित गर्दै आफ्नो जित निकालेको हो । निकै नै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ बराबर भएको खेलमा दोश्रो हाफमा धरान १७ ले ३ गोल गर्दै धरान १६ लाई स्तब्ध बनाएको थियो ।
दोश्रो हाफको ७औँ मिनेट मै धरान १७ को तर्फबाट मिलन राईले गोल गर्दै आफ्नो टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । धरान १६ का गोल रक्षकले पेनाल्टी क्षेत्रमा मिलन राईलाई लडाएपछि धरान १७ ले पेनाल्टी पाएको थियो । सोही पेनाल्टी सुटआउटको सदुपयोग गर्दै मिलन राईले गोल गरेका थिए । यसैगरि दोश्रो हाफको १७औँ मिनेटमा सुशिल राईले गोल गर्दै धरान १७ लाई दोब्बर अग्रता दिलाएका थिए । यसका साथै दोश्रो हाफको २७औँ मिनेटमा कृष्ण राईले गोल गप्दै धरान १७ को जित सुनिश्चित गरेका थिए ।
निकै नै प्रतिस्पर्धात्मक खेलमा धरान १६ ले पटक पटक गोल गर्ने अवसर सदुपयोग गर्नु नसक्दा हार व्यहोर्नु पर्यो । गत सिजनको विजेता समेत रहेको धरान १६ लाई यस सिजनमा पनि उपाधि दावेदार टोलीको रुपमा हेरिएको थियो । आज भएको खेलबाट धरान १७ का सुशिल राई म्यान अफ द म्याच घोषित भए । उनले नगद २५ सय, मेडल र ५ सय बराबरको जिएफएक्स रेस्टुरेण्टको फुड भौचर प्राप्त गरे ।
प्रतियोगीताको दावेदार मानिएका धरान १६ लाई पराजित गर्दै फाइनल प्रवेश गरेका धरान १७ ले यहि माघ १४ गते फाइनल खेलमा धरान १५ को सामना गर्नेछ । धरान १५ ले धरान ५ लाई सेमिफाइनलमा पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।