धनगढी, फागुन २, २०७९ – छैटौं संस्करणको अन्तराष्ट्रिय मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपमा सहभागी हुने १० टिमको टुङ्गो लागेको छ । आयोजक सुदूरपश्चिम ११ स्पोर्टस क्लबले प्रतियोगितामा सहभागी हुने ६ ए डिभजिन, २ विदेशी र अन्य दुई टिमको टुङ्गो लगाएको हो ।
धनगढी रंगशालामा हुने प्रतियोगितामा मनाङ मस्र्याङ्दी क्लब, फ्रेन्ड्स क्लब, थ्री स्टार क्लब, एपीएफ क्लब, नेपाल पुलिस क्लब, खुमलटार एफसी, बागमती युथ क्लब, आयोजक सुदूरपश्चिम ११, जर्जियन फुटबल क्लब, एभिनिर एफसीले प्रतिस्पर्धा गर्नेछन् ।
सुदूरपश्चिम प्रदेश खेलकुद विकास परिषद्को सहयोगमा सञ्चालित प्रतियोगिता चैत ९ गतेदेखि १८ गतेसम्म सञ्चालित हुदैछ । प्रतियोगिताको विजेताले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ नगद प्राप्त गर्नेछ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख रुपैयाँ र विधागततर्फको उत्कृष्ट खेलाडीले जनही १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको उदयीमान खेलाडीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । छैटौं संस्करणको प्रतियोगिताको तयारी तिव्र गतिमा अघि बढेको आयोजक क्लबका अध्यक्ष सुरेस हमालले बताएका छन् ।